काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ घर भएका पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् ।
बुधबार एक शोक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले नेता बर्मनको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको बताएका छन् । नेकपा अध्यक्ष प्रचण्डले बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन र आफन्तजनमा समवेदनासमेत प्रकट गरेका छन् ।
‘बर्मन बुढा नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा हुन्,’ उनले लेखेका छन्, ‘कमरेड बुढाको विशेषगरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।’
बर्मन बुढाको बुधबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा ९० वर्षको उमेरमा निधन भएको हो । बर्मन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए ।
प्रतिक्रिया