काठमाण्डु – हेटौँडा एमालेको प्रभाव क्षेत्र मानिन्छ । यद्यपि, गत चुनावमा यहाँ एमालेले निकै कम मतान्तरको जित निकालेको थियो । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा यसपटक कसले बाजी मार्ला भन्ने चर्चा भइरहेको छ । हेटौँडामा अहिलेसम्म एमालेबाहेकका दलले चुनाव जित्न सकेका छैनन् । हेटौँडाका पूर्वमेयर डोरमणि पौडेल बागमती प्रदेशको मुख्यमन्त्रीसमेत बनिसकेका छन् ।
०७४ को मतपरिणाम
०७४ सालको चुनावमा एमाले एक्लै र कांग्रेस–माओवादी गठबन्धन बनाएर लडेका थिए । एमालेका हरिबहादुर महत कांग्रेसका आनन्दराम पराजुलीलाई जम्मा ६ सय १५ मतले हराएर मेयर बने । महतले २३ हजार एक सय सय २४ र पराजुलीले २२ हजार पाँच सय नौ मत पाएका थिए । मेयरमा राप्रपाका मधु अधिकारीले ६ हजार आठ सय ५७ मत पाए ।
उपमेयरमा पनि एमालेकै मीनाकुमारी लामा २३ हजार चार सय ३७ मत ल्याएर विजयी भइन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत मात्रै पाए । राप्रपाकी इन्दिरा न्यौपानेले सात हजार सात सय दुई मत पाइन् । वडामा पनि एमालेले बहुमत हासिल ग¥यो । १९ वडा रहेको हेटौँडामा एमालेले १२ वडाध्यक्ष जित्यो । कांग्रेसले पाँच र माओवादीले दुई वडामा अध्यक्ष जिते ।
सम्भावित समीकरण र हारजितका फ्याक्टर
गत चुनावको मतपरिणामअनुसार हेटौँडामा एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल हो । उपमहानगरमा माओवादी र राप्रपाको पनि ठिकै प्रभाव छ । आगामी चुनावमा पनि सत्तासाझेदार दलबीच तालमेल हुने सम्भावना बढी छ । किनकि तालमेल नगरी हेटौँडामा अन्य दल प्रतिस्पर्धामा जान सम्भव छैन । तालमेल एमालेइतरका सबै दलका लागि पहिलो आवश्यकता हो । यदि सबै दल एक्लाएक्लै चुनाव लडेमा एमालेले सहजै चुनाव जित्नेछ । तालमेल भयो भने रोचक प्रतिस्पर्धा हुनेछ ।
एमाले विभाजनको असर हेटौँडामा राम्रै देखिएको छ । उपमेयर मीनाकुमारी लामा र वडा नं. १३ का अध्यक्ष मनोजकुमार वाइबा एकीकृत समाजवादीतिर लागेका छन् । सत्तासाझेदार दलको गठबन्धन बन्यो भने एमालेले राप्रपासँग तालमेल गर्ने सम्भावना छ । तर, राप्रपा पनि विभाजित भएकाले सहज भने छैन । एमालेले पार्टी फुटेर भएको क्षति माओवादीका केही नेतालाई भित्र्याएर पूर्ति गर्न खोजेको छ । गत निर्वाचनमा उपमेयर उठेका माओवादी नेता बलराम बल र माओवादीका वडा नम्बर १४ का अध्यक्ष दीपक खड्का एमालेमा प्रवेश गरेका छन् । तर, विगतको मत हेर्दा राप्रपासँग तालमेल गर्न नसके एमालेका लागि चुनाव जित्न निकै कठिन हुनेछ ।
माओवादी र एकीकृत समाजवादीका नेता कांग्रेससँग गठबन्धन गरेर एमालेलाई हराउनुपर्ने भन्दै लागिरहेका छन् । थपिएका मतदातामध्ये धेरैले कता मत दिन्छन् भन्नेले पनि निर्वाचनमा प्रभाव पार्नेछ । तर, दुईवटा गठबन्धन बनेमा कसले जित्छ भनेर आकलन गर्न कठिन हुनेछ । सत्तासाझेदार दलबीच गठबन्धन हुँदा मेयर कांग्रेसले पाउने निश्चित भए पनि उपमेयरमा माओवादी र एकीकृत समाजवादी दुवैले दाबी गरेका छन् । उम्मेदवारको अनुहारले पनि नगरमा केही हजार मत तलमाथि हुने भएकाले दलहरू प्रभावशाली उम्मेदवारको खोजीमा छन् ।
मेयरमा सम्भावित उम्मेदवार
एमालेबाट पाँचजना नेताले मेयरको उम्मेदवारीमा दाबा गरिरहेका छन् । अहिलेका मेयर हरिबहादुर महतले दोहोरिन चाहेका छन् । यस्तै, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल र पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले आकांक्षा राखेका छन् । कांग्रेसबाट पार्टीका पूर्व जिल्ला सचिव आनन्दराम पराजुली मुख्य दाबेदार हुन् । उनी अघिल्लोपटक पनि मेयरमा लडेका थिए । यस्तै, युवा नेता प्रभातकुमार दाहाल र जिल्ला सचिव भीमसेन महतले पनि उम्मेदवारीको आकांक्षा राखेका छन् । माओवादी केन्द्रबाट संविधानसभा सदस्य प्रह्लाद लामिछाने र प्रदेश सभा सदस्य कुमारी मोक्तानले मेयरमा दाबी गरेका छन् । एकीकृत समाजवादीबाट हालकी उपमेयर मीनाकुमारी लामा मुख्य दाबेदार हुन् । राप्रपा र राप्रपा नेपालमा भने दाबेदार खुलेका छैनन् ।
बढे मतदाता
हेटौँडा उपमहानगरपालिकामा गत निर्वाचनमा ८३ हजार ६ सय ३९ मतदाता थिए । तीमध्ये ५४ हजार चार सय ९८ मत सदर भएको थियो । अहिले २० हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार आगामी चुनावका लागि उपमहानगरपालिकामा एक लाख चार हजार चार सय ७३ जना मतदाता छन् ।
याे पनि…
बुटवल उपमहानगर : आफ्नो प्रभाव क्षेत्र बचाउन एमाले सफल होला ?
दलबदलको होड चलिरहेको वीरगन्ज महानगरपालिकामा यसपटक कसले बाजी मार्ला ?
विराटनगर महानगरमा कांग्रेस बलियो, आगामी चुनावमा कसले मार्ला बाजी ?
को बन्ला पोखरा महानगरपालिकाको मेयर ? विगतको परिणाम र भावी नतिजाको विश्लेषण
ललितपुर महानगरपालिका : विगतको नतिजा र भावी परिणामको लेखाजोखा
भरतपुर महानगरपालिका जहाँ हारजितका यी हुनेछन् मुख्य ‘फ्याक्टर’
प्रतिक्रिया