नेपाल र भारतबीच कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युत आयात- निर्यात हुने

नेपाल र भारतबीच कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युत आयात- निर्यात हुने


काठमाण्डु- नेपाल र भारतबीच अब कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युतको आयात-निर्यात हुने भएको छ ।

नेपाल-भारत ऊर्जा सचिव स्तरीय समिति (जेएससी)को ११ औं बैठकले १३२ किलोमोल्ट तथा सो भन्दा कम क्षमताका विद्यमान प्रसारण लाइनबाट भारतको छिमेकी राज्यको प्रसारणलाइन उपयोग गरी दुई देशबीच विद्युत आयात-निर्यात गर्ने बारे विधि प्रक्रिया स्वीकृत गरेको हो ।

यससँगै अब नेपालले भारतको विहार तथा उत्तर प्रदेश राज्य स्तरीय प्रसारण प्रणाली प्रयोग गरी नेपाल-भारतबीच विद्युत आयात निर्यात गर्न सकिने भएको छ । साथै उक्त बैठक टनकपुर-महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत प्रसारण लाइन वा अन्य भोल्टेज क्षमताका प्रसारण लाइनबाट थप विद्युत निर्यात गर्न सम्भाब्य विकल्पबारे समेत अध्ययन गराउने निर्णय गरेको छ ।

नेपाल र भारतबीच इनरवा-पुर्निया र न्यू लुम्की-बरेली ४ सय किलोभोल्ट क्षमताका दुई अन्तर देशीय प्रसारण लाइनको निर्माण क्रमशः २०२७/२८ र २०२८/२९ सम्म सम्पन्न गर्न लगानीको मोडालिटी टुग्याउने जिम्मा नेपाल भारत ऊर्जा संयुक्त कार्यदललाई दिएको छ । त्यस्तै अहिले सञ्चालनमा रहेको पहिलो अन्तर देशीय प्रसारण लाइन ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनको क्षमता वृद्धि गर्ने निर्णय भएको छ ।

जसअनुसार ढल्केवर सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण भएपश्चात हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढक्लेवर– मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत आयात-निर्यातको परिमाण ८ सय मेगावाट भन्दा बढी पुर्‍याउने सम्बन्धमा अध्ययन गराउने निर्णय गरेको जनाइएको छ ।