निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिने प्रलोभनमा पारेर ठगी गर्ने सहकारीका अध्यक्ष पक्राउ

निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिने प्रलोभनमा पारेर ठगी गर्ने सहकारीका अध्यक्ष पक्राउ


काठमाण्डु – राजधानी काठमाण्डुको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ३१ वर्षीय हर्कबहादुर कठायत पक्राउ परेका छन् ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका डोटी घर भएका कठायत पक्राउ परेका हुन् ।

अध्यक्ष कठायतसँगै सहकारीका सदस्य काभ्रे निवासी ३५ वर्षीय विनोदकुमार ओझा पक्राउ परेका छन् ।

जोरपाटी र भक्तपुर जिल्लाभित्रका सहकारीका शाखा कार्यालयका सञ्चालक समितिका सदस्यले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाएर ठगी गरेको आरोप छ ।

निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर मासिक, त्रैमासिक, वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ संस्थामा बचतकर्ताले जम्मा गरेको रकम पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

यसरी निक्षेप जोखिममा रहेको ठानेर सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिनेतर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरेपछि बचतकर्ताहरू प्रहरीमा पुगेका थिए ।

ब्यूरोका अनुसार बचतकर्ताहरूको हालसम्म प्राप्त जाहेरी अनुसार १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ ९२ पैसा बचत रकम अपचलन तथा हिनामिना भएको छ । कठायत र ओझालाई पुस १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।