संचारमन्त्रीसंग टसल भएपछि संचार सचिवको १० महिनामा सरुवा

संचारमन्त्रीसंग टसल भएपछि संचार सचिवको १० महिनामा सरुवा


काठमाण्डु – सरकारले १० महिनामै संचारमन्त्रालयका सचिव कृष्ण राउतको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राउतलाई संचार तथा सूचना प्रविधिमन्त्रालयको सचिवबाट हटाएर रामकृष्ण सुवेदीलाई संचार सचिवमा ल्याएको हो ।

सुवेदी माओवादी निकट छन् । रावत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेका छन् । संचार सचिव रावत बालुवाटार जग्गा काण्डमा समेत पक्राउ परेका थिए । उनको मुद्दा समेत अहिले चलिरहेको छ ।

मधेष प्रदेशबाट संचार सचिवमा सरुवा भएका राउतलाई एक विचौलिया र प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई जिवन आचार्यको सिफारिसमा संचार मन्त्रालयमा ल्याइएको थियो । उनले उनिहरुकै सल्लाहमा काम गरेर मन्त्रीको आदेश नमान्ने गरेको गुनासो थियो ।

राउतले तिनै विचौलियाको सल्लाहमा टेलिकमको व्यापार व्यवसायमा अनावश्यक चांसो र हस्तक्षेप गर्ने गरेको गुनासो संचारमन्त्री रेखा शर्मासमक्ष थियो । उनले टेलिकमका एमडी सुनिल शर्मालाई समेत तिनै विचौलियासंग मिलेर काम गर्न दबाव दिंदै आएको स्रोत बताउंछ ।

पछिल्लो समय मन्त्री शर्मा र सचिव राउतबीच नेपाल टेलिकमको नयां बिलिङ ठेक्काको विषयमा समेत विवाद थियो । मन्त्री शर्माले उक्त ठेक्का चिनियां कम्पनीलाई र राउतले अमेरिकन कम्पनीलाई दिन जोड गरेका थिए । शर्माले उनको सरुवाको लागि यसअघि नै प्रस्ताव लगेपनि प्रधानमन्त्रीको हस्तक्षेपपछि उनको सरुवा रोकिएको थियो ।

३ करोड ५० लाख अमेरिकन डलरको उक्त ठेक्कामा बिवाद हुंदा अहिले नयां बिलिङ प्रणाली अघि बढ्न सकेको छैन् । यसमा भूराजनीतिक चांसो देखिएको स्रोतको दावी छ ।

अहिले उक्त ठेक्काको लागि नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीका श्रीमान् विश्वबन्धु पहाडी ठेकेदारहरुसंग सेटिङमा लागेका बताइन्छ । नेपाली सेनाका महासेनानी समेत रहेका पहाडी अहिले सैनिक मुख्यालयमा भन्दा टेलिकम मुख्यालय भद्रकालीमा बढी सक्रिय हुने गरेका छन् ।