संघीय संरचनामा खर्च बढ्यो तर आम्दानी बढेन : अर्थमन्त्री महत

संघीय संरचनामा खर्च बढ्यो तर आम्दानी बढेन : अर्थमन्त्री महत


काठमाण्डु – अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संरचनामा खर्च बढे पनि आम्दानी नबढेको गुनासो गरेका छन् ।

नेपाल व्यवस्थापन संघले ललितपुरमा आज शुक्रबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताए ।

उनले स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको बताए । उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको उल्लेख गरे ।

अर्थमन्त्री महतले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताए । द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको उनले बताए । नेपाली सेनामा झण्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको अर्थमन्त्री महतले बताए ।

उनले भने, ‘सामाजिक सुरक्षामा हामी दक्षिण एसियामा अन्य देशभन्दा माथि छौं । भारत, बंगलादेशभन्दा माथि छौं । हामीले उदारताका साथ स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गरिसकेका छौं । ज्येष्ठ नागरिक भत्तादेखि लिएर अनेकन अनुदानका विषयहरू सुनिश्चित गरेका छौं । सुरक्षा निकायको आकार पनि द्वन्द्वपछि दोब्बर नै भयो । सशस्त्र प्रहरी छुट्टै गठन भयो, कर्मचारीतन्त्र पनि ठूलै छ । यी कारणले गर्दा आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको छ,’ उनले भने ।

संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढ्दा आन्तरिक स्रोत र साधनबाट उठेको राजस्वले राज्यका सबै दायित्व धान्न कठिन हुँदै गएको उनले बताए ।