काठमाण्डु – राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आईतबार साँझ ५ बजेसम्म समय दिए पनि कार्यालयका कर्मचारी रातिसम्म ‘अलर्ट’ राखिएका छन् ।
दाबी पेश गर्न आह्वान गरिएपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रस्तावसहित शितलनिवास पुगेपछि कर्मचारीलाई अलर्ट राखिएको छ ।
दुवै दल मिल्दा स्पष्ट बहुमत पुग्ने भएकाले शुक्रबारै राति नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी रहेको छ । नियुक्तिको टिप्पणी उठाउने, कम्प्युटरमा लेख्ने, कानूनी विषय समेट्ने र विज्ञप्ति निकाल्ने लगायत कार्यका लागि राष्ट्रपति कार्यालयका कर्मचारीलाई अलर्ट राखिएको उच्च स्रोतले जनाएको छ ।
‘अरु दिन कार्यालय समय सकिएपछि घर जान पाइन्थ्यो, आज रातिसम्मै बस्नुपर्ने कुरा आएको छ,’ स्रोतले भन्यो, ‘आईतबारसम्म समय भए पनि आजै राति काम हुने देखिन्छ ।’
कांग्रेस र एमालेका नेताहरूले पनि शुक्रबारै राति नियुक्ति हुने सम्भावना रहेको बताएका छन् । संसद्मा विश्वासको मत नपाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास खुमलटार सरिसकेका छन् ।
प्रतिक्रिया