काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा १६६ सांसदको हस्ताक्षरसहित ओलीे शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन् । २ दलको मत संख्या जोड्दा सहज बहुमत (१६७) पुगेको भन्दै राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
ओलीलाई कांग्रेसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (१४), जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), जनता समाजवादी पार्टी, नेपाल (५) तथा नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (४) र (४) ले पनि समर्थन गरेका छन् ।
यसअघि प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले विश्वासको मत माग्दा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत खसेको थियो । संसद्को विश्वासका लागि आवश्यक पर्ने मत प्राप्त गर्न नसकेपछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।
प्रतिक्रिया