राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

राप्रपा निर्देशन समितिको शनिबारको बैठकले विश्वासको मत नदिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले आईतबार विश्वासको मत लिँदैछन् ।

बैठकपछि राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर बैठकले गरेको जनाएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डासहित मूलतः नेपाली कांग्रेस र नेकपा एमालेले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चातका सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा राप्रपाले आईतबार संसदमा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ ।’