मकवानपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाण्डु–तराई/मधेश दुु्रतमार्ग आधुनिक विकासको नमूना साबित हुने बताएका छन् ।
नेपाली सेनाद्वारा निर्माणाधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गरे ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाण्डु–निजगढतर्फको १ दशमलव ७२८ किलोमिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रू’ भएको छ ।
प्रधानमन्त्री ओलीले भने, ‘विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्याे, त्यो हुन सकेन । अब विकासको नमूनाका रूपमा यो दूू्रतमार्ग बन्नेछ । यस मार्गअघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर छ ।’
उनले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि दू्रतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गरे ।
डिजिटल नेपाल फ्रेमवर्कबमोजिम अप्टिकल फाइबर, फोरजी इन्टरनेट लगायतका सेवा सबै जिल्लामा पुर्याउने काम अघि बढिरहेको बताउँदै उनले द्रूतमार्ग लगायतका पूर्वाधार विकासले यस्ता कार्यक्रमलाई सहयोग मिल्ने बताए ।
द्रूतमार्ग विक्रम संवत् २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएकाले समयमा सम्पन्न गर्न उनले सम्बन्धित मन्त्रालय र निकायकालाई निर्देशन दिए । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत सहभागी थिए ।
प्रतिक्रिया