प्रधानमन्त्री ओलीसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेट


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले मंगलबार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा २ देशबीचको सदियौंदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको संघीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरूको सहभागिता वृद्धि र दीगो विकासका लक्ष्यहरूको कार्यान्वयनका लागि प्राथमिकता दिएको बताए । उनले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पहल गरिरहेको बताए ।

उनले २ ठूला दलबीचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट गरेका थिए ।

राजदूत फेनले संक्रमणकालीन न्याय सम्बन्धी कानूनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुंगो लाग्न लागेकोमा खुशी व्यक्त गर्दै नेपालको विकास, सुशासन र संघीयताको सबलीकरण लगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगको निरन्तरता रहने अवगत गराएका थिए ।

राजदूत फेनले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातका लागि थप सहजीकरण गर्ने पनि स्पष्ट गरेका थिए ।