प्रधानमन्त्री ओलीको प्रश्न : १६ अर्ब विद्युत् महशुल छुट दिएर ६ अर्ब उठाउने तमासा के हो ?

प्रधानमन्त्री ओलीको प्रश्न : १६ अर्ब विद्युत् महशुल छुट दिएर ६ अर्ब उठाउने तमासा के हो ?


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहहरूबाट उठाउनुपर्ने भनिएको १६ अर्ब विद्युत् महशुल छुट दिएर ६ अर्ब उठाउने तमासा के गरेको हो भनेर प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘उठाउनुपर्ने विद्युत् महशुल २२ अर्ब भनियो किन ? महालेखाको प्रतिवेदनमा आयो कसरी ? राष्ट्रपति र संसद्मा बुझाइयो कसरी ? अनि ठूला कुरा गरेर हुन्छ ?’

उद्योगहरूले प्रयोग गरेको विद्युत् महशुल सम्पूर्ण महशुल उठाउनुपर्ने स्पष्ट पारे । ‘एकातिर विद्युत्को टर्वाइन बन्द गर्नुपर्ने अर्काेतिर उद्योग बन्द गर्नुपर्ने । तत्कालीन सरकारले १६ अर्ब विद्युत् महशुल छुट दिएर ६ अर्ब उठाउने तमासा के हो ? यो प्रचारबाजीको विषय होइन । कसैलाई हिरो बनाउने, कसैलाई के गर्ने प्रयासको कुनै अर्थ छैन । ती प्रयास काम पनि लाग्दैनन्, तर प्रयास चाहिँ जारी छ, व्यक्ति–विशेषलाई हिरो बनाउने ।’

प्रधानमन्त्री ओलीले हेटौंडामा कुहिएर बसेका ट्रान्सफर्मरबारे किन छानबिन हुँदैन भनेर प्रश्न गरे । उनले भने, ‘किन खोजी हुँदैन हेटौंडामा भएका त्यत्रा ट्रान्सफर्मरहरूको ? खोला वारि खोला पारि लस्कर छ, ट्रान्सफर्मर कुहिएर बसेका छन् । राज्यको सम्पत्ति तामाको चिज राख्नुपर्नेमा आल्मोनियम राखेर काम नलागेर ती त्यत्तिकै राखेको छ । त्यसका लागि कोही जिम्मेवार हुनुपर्छ कि पर्दैन ? कोही छैन भने ठेकेदार, जोले ठेक्का लिएको छ, के भनेर ठेक्का लिएको थियो, त्यसअनुसार भयो कि भएन ? या कमसलै ल्याउनु भनेर ठेक्का लगाएको छ कि ? किन्न लगाउँदा के निर्णयअन्तर्गत किन्न लगाएको थियो ? यही काठमाण्डु भक्तपुरतिर फ्याकेका ट्रान्सफर्मरहरू के भएका हुन् ? तिनको छानबिन हुनुपर्छ कि पर्दैन ? अनि सत्यलाई ढाँकछोप गर्न चर्का आवाज निकालेर जनताई भ्रममा पारेर भ्रष्टाचार भ्रष्टाचार भनेर करायो र भ्रष्टाचारलाई झ्याप्प ढाक्यो । त्यो खालका तरिका अहिलेको सरकारले अपनाउँदैन ।’