लेबनानमा ५ हजारभन्दा बढी नेपाली जोखिममा

लेबनानमा ५ हजारभन्दा बढी नेपाली जोखिममा

वेबसाइटमा नाम र सम्पर्क नम्बर दर्ता गर्न अवैतनिक महावाणिज्य दूतावासको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-इजरायल र हिजबुल्लाहबीचको लडाइँ बढ्दै गएपछि लेबनानमा कार्यरत नेपालीहरू जोखिममा परेका छन् ।

हवाई आक्रमण गरिरहेको इजरायली सेना हिजबुल्लाहको नियन्त्रणमा रहेको लेबनानी भूमिमा प्रवेश गरेपछि युद्धको खतरा अझै बढेको छ ।
गत सोमबारदेखि हिजबुल्लाह र इजरायली सेनाबीच लडाइँ भइरहेको छ । इजरायलको शृङखलाबद्ध हवाई आक्रमणबाट अहिलेसम्म लेबनानमा मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि सुरु भएको द्वन्द्व अहिले इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धमा परिणत भएको छ ।

उत्तरी इजरायल र इजरायलले कब्जा गरेको गोलान हाइट्समा हिजबुल्लाहले आठ हजारभन्दा बढी रकेट प्रहार गरिसकेको छ । यसले यस क्षेत्रको स्थिति झनै गम्भीर बनाएको छ ।

इजरायली सेनाका प्रमुख हर्जी हेलेवीले हिजबुल्लाहको पूर्वाधारलाई हवाई हमलाबाट ध्वस्त पार्ने र इजरायली सेनालाई लेबनानी भूमिमा प्रवेश गराउने योजना सार्वजनिक गरेका छन् । यस्तो अवस्थामा त्यहाँ तनाब झनै बढ्दै जाने देखिन्छ ।

युद्धका कारण लेबनानको दक्षिणी क्षेत्रबाट बेरुत र सिरिया जाने विस्थापितहरूको संख्या बढिरहेको छ । यो अवस्थामा लेबनानमा रहेका नेपाली कामदार पनि समस्यामा परेका छन् ।

लेबनानको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अधिकांश उडान रद्द भएका कारण देश छोड्न समस्या छ । अन्य देशका नागरिक छिमेकी देश पुगेर हवाइ सेवा लिइरहेका छन् ।

लेबनानमा नेपाली सेनासहित घरेलु श्रमिकका रूपमा कार्यरत छन् । त्यहाँ पाँच हजारभन्दा धेरै नेपाली कार्यरत रहेको अनुमान छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत लेबनानमा नेपाली शान्ति सैनिकका ८ सय ५० जना कार्यरत छन् । नेपाली सेनाको गण हेडक्वार्टर लेबनानको दक्षिण–पश्चिम भाग मेइसेज जाबलमा युनिफिल मिसनअन्तर्गत तैनाथ छ ।

लेबनानको पछिल्लो अवस्थालाई दृष्तिगत गर्दै त्यहाँ रहेका नेपालहरूलाई कन्सुलरमा दर्ता हुन आग्रह गरिएको छ ।

वेबसाइटमा नाम र सम्पर्क नम्बर दर्ता गर्न लेबनानस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावासले आग्रह गरेको हो ।

कुनै आपतकालीन अवस्था भोग्नु परेमा फोन वा ह्वाट्सएप नम्बर +२०१०९७७७२३४८, +२०१००२५०५९९७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

महावाणिज्यदूत कार्यालयले सूचनामा भनेको छ, ‘काइरोमा रहेको नेपाली दूतावासले तपाईंको आवश्यकताहरू पूरा गर्न र विशेष गरी आपत्कालीन अवस्थाहरूमा तपाईंको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले आफ्नो कन्सुलर सेवाहरू सक्रिय रूपमा प्रदान गर्न सुरु गरेको जानकारी दिन चाहन्छौँ । हामी लेबनानमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरूलाई हाम्रो वेबसाइटमार्फत नागरिक दर्ता रेजिस्टरमा दर्ता गर्न आग्रह गर्दछौँ । दर्ता आपत्कालीन अवस्थाहरूमा तपाईँलाई तीव्र र प्रभावकारी सहयोग प्रदान गर्न सक्षम बनाउने महत्वपूर्ण कदम हो ।’

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय नियोग (यूएनएचसीआर)का अनुसार युद्धबाट विस्थापित भएका ९० हजारमध्ये ६ हजार ६ सय ९७ जना लेबनानी र १७ हजार सिरियालीहरू सिरियाको सीमा पार गरिसकेका छन् ।

तर, नेपाली कामदारहरूले भने तत्काल लेबनान छोडिहाल्ने मनस्थिति बनाइसकेका छैनन् । तर सुरक्षाको लागि रोजगारदाताले लैजाने ठाउँमा स्थानान्तरण हुन तयार भएर बसेका छन् ।