कुलेखानी ड्याम भरिँदा तटीय क्षेत्रमा डुबानको जोखिम, उच्च सतर्कता अपनाउन अपिल

कुलेखानी ड्याम भरिँदा तटीय क्षेत्रमा डुबानको जोखिम, उच्च सतर्कता अपनाउन अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय (इन्द्र सरोबर ताल) भरिन थालेको छ ।

अविरल वर्षा ५–७ घण्टा कायमै रहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने भन्दै नेपाल विद्युत् प्राधिरकण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।

केन्द्रले पत्राचार गर्दै भनेको छ, ‘अहिले भइरहेको अविरल वर्षाको कारण यस कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा पानीको सहत बढी हुन सक्नुका साथै चखेल, सिम, मुख्य ड्यामको ढोका खोल्न पर्न सक्ने हुनाले बागमती खोलाको बहाव बढ्न गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुवानमा पर्ने सम्भावना रहेको व्यहोरा जानकारी गराउँदै त्यस क्षेत्रका स्थानीयलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन आवश्यक जानकारी गराइदिन अनुरोध छ ।’

ड्याम केही घण्टामा भरिने अवस्था रहेकाले सचेत रहन गृह मन्त्रालयले पनि आग्रह गरेको छ । कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए ।