झ्याप्लेखोला पहिरो अपडेट : थप ७ जनाको शव फेला, मृतकको संख्या २४ पुग्यो

झ्याप्लेखोला पहिरो अपडेट : थप ७ जनाको शव फेला, मृतकको संख्या २४ पुग्यो


काठमाण्डु-पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा थप ७ जनाको शव भेटिएको छ ।

चितवनबाट काठमाडौं आएको माइक्रोबस पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रोबसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस पहिरोमा पुरिएको फेला परेको हो । माइक्रोबसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ ।

पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।