बाढी पहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

बाढी पहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त


काठमाण्डु-पूर्वराजा ज्ञानेन्द्र शाहले अविरल भारी वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

‘धेरै सर्वसाधारण नेपालीको जीवन गुमेको, घाइते हुनुपरेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनुपरेको सुन्नु पर्दा हामीलाई अत्यन्त पीडाबोध भएको छ,’ आज एक सन्देश जारी गर्दै उनले भनेका छन् ।

साथै मौसमसम्बन्धी पूर्वसूचना हुँदाहुँदै त्यसप्रति तत्परता र पूर्वप्रतिकार्य नहुँदा ठूलो क्षति हुन पुगेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । ‘यो बेला भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्वसूचना हुँदाहुँदै त्यसमा अग्रीम तत्परता तथा पूर्वप्रतिकार्य नभएर यत्रो विधि मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद कुरा हो,’ सन्देशमा भनिएको छ ।

उनले विपदका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सुधार गर्न राज्यले तदारुकता देखाउनुपर्ने पनि बताएका छन् ।