पहिरोले एम्बुलेन्स बाटैमा रोकिँदा दुई बिरामीको मृत्यु

पहिरोले एम्बुलेन्स बाटैमा रोकिँदा दुई बिरामीको मृत्यु


काठमाण्डु-सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ ।

सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौं हिँडेका पाँच वटा एम्बुलेन्समध्ये दुईवटाका बिरामीको मृत्यु भएको हो ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा बिहीवारदेखि बीचबाटोमै एम्बुलेन्स रोकिएको थियो । बाटोमा अलपत्र पर्दा अन्य तीनवटा एम्बुलेन्सका बिरामीको अवस्थासमेत नाजुक बन्दै गएको प्रहरीले जनाएको छ ।

बीच बाटोमा नै एम्बुलेन्स रोकिएपछि कमलामाई नगरपालिका–४ मल्लागाउँ सिन्धुलीका ९५ वर्षीया टीका कुमारी भुजेल र बर्दिवास नगरपालिका–८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो ।

भुजेलको शुक्रबार र सिँजालीको शनिबार एम्बुलेन्समै मृत्यु भएको हो । ब २१ च ७५२३ नम्बरको एम्बुलेन्स मार्फत लगिएको भुजेलको शरीरमा रगत कमी र दम बढेपछि सिन्धुली अस्पतालबाट थप उपचारका लागि काठमाडौं लगिँदै थियो । सिंजाली भने मृर्गौला पीडित थिए । सिजाँलीलाई महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स मार्फत उपचारका लागि काठमाडौं लगिँदै थियो ।

एम्बुलेन्स चालक सुमन तामाङका अनुसार बिपी राजमार्गमा पहिरो खसेपछि बिहीवारदेखि बीचबाटोमै अलपत्र पर्दा बिरामीको मृत्यु भएको र तीनदिनदेखि शव निकाल्न नसक्दा एम्बुलेन्समै शव गनाएर दुर्घन्धित हुन थालेको छ ।

अन्य पाँच वटा एम्बुलेन्सहरु सँगै फसेका छन् । सर्लाही, महोत्तरी, सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ हिँडेका एम्बुलेन्सहरू बीचबाटोमै तीनदिनदेखि फस्दा अन्य बिरामीहरूको अवस्थासमेत नाजुक बन्दै गएको छ ।

रोशी र सुनकोसी नदीमा आएको बाढीले विपी राजमार्गका दर्जनौं स्थानमा क्षति पु¥याउँदा एम्बुलेन्स तथा राजधानी काठमाडौं जाने र फर्कने सयौं सवारी साधनहरू अलपत्र छन् ।