हवाइ भाडा महँगो नलिन अमेरिकाबाट प्रधानमन्त्री ओलीको निर्देशन

हवाइ भाडा महँगो नलिन अमेरिकाबाट प्रधानमन्त्री ओलीको निर्देशन


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा आन्तरिक उडानमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।

उनले आइतबार सामाजिक सञ्जालमा हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सुनिएको उल्लेख गर्दै सहुलियत मूल्यमा भाडा लिन भनेका छन् ।

‘लगातारको वर्षा र बाढीपहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।

ओलीले प्राकृतिक विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । ‘नेपाल सरकार, पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ । हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’