बेरुतमा इजरायलको भीषण हमला, के छ नेपालीको अवस्था ?

बेरुतमा इजरायलको भीषण हमला, के छ नेपालीको अवस्था ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-लेबनानको राजधानी बेरुतमा इजरायलले ठूलो आक्रमण गरेको छ । लेबनानको दक्षिणी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ ।

बेरुतबाट आएको रिपोर्टअनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले यहाँ ठूलो आक्रमण गरेको छ । बिहीबार राति युद्धक विमानबाट इजरायलले खसालेको बमहरू बेरुतको दक्षिणी क्षेत्रमा ठूल्ठूलो आवाजमा विस्फोट भएको थियो ।

समाचार संस्था अल जजिराले बेरुतमाथि यो इजरायली आक्रमणमध्ये अहिलेसम्मकै ठूलो भनेको छ । यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो ।

इजरायलले वेस्ट बैंकमा पनि हमासविरुद्ध सैन्य कारबाही गरेको छ । वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन् ।

अधिकारीहरुका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा पनि हवाई हमला गरेको छ । इजरायलले यस हमलामा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको बताएको बीबीसीको समाचारमा उल्लेख छ ।

यद्यपि, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, २४ घण्टामा देशभर भएका विभिन्न बम आक्रमणबाट ३७ जना मारिएका र १ सय ५१ जना घाइते भएका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले मंगलबार नयाँ क्षेप्यास्त्र ‘फताह–१’ प्रयोग गरेको थियो । तीव्र गतिको उक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट समेत जोगिने दाबी छ ।

हेजबुल्लाह प्रमुख हसन नसरल्लाह र हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहको हत्याको प्रतिक्रियामा इरानले इजरायलमाथि मंगलबार करिब दुई सय क्षेप्यास्त्र प्रहार गरेको थियो । हसनको गत शुक्रबार र इस्माइलको गत जुलाई ३१ मा हत्या गरिएको थियो । इजरायली सेनाले हेजबुल्लाहविरुद्ध जमिनबाट आक्रमण सुरु गरेको केही घण्टामै मंगलबार इरानले क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले प्रहार गरेका क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई आकाशमै नष्ट गरिदिएको र केही इजरायल तथा वेस्ट बैंकमा झारिदिएको इजरायली सुरक्षा बल (आईडीएफ) ले दाबी गरेको छ ।

के छ नेपालीको अवस्था ?

लेबनानमा अहिले करिब १२ सय नेपाली कार्यरत छन् । यसमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । धेरैजसो नेपाली घरेलु श्रमिकका रूपमा काम गरिरहेका छन् । सानो संख्यामा होटल र उद्योगमा समेत नेपालीहरू कार्यरत छन् । भारतको बाटो हुँदै नेपालीहरू लेबनान पुग्ने गरेका छन् । त्यसैले दूतावासको अभिलेखभन्दा बढी संख्यामा नेपालीहरू लेबनानमा कार्यरत रहेको अनुमान गरिन्छ ।

संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा ८ सय ७७ नेपाली सैनिक पनि लेबनानमा कार्यरत छन् । बेरुत क्षेत्रमा बस्ने नेपालीहरू अहिलेसम्म सुरक्षित रहेको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १० नेपालीसहित करिब १२ सय जनाको मृत्यु भएको थियो ।

यता गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलमा नेपालीहरू सुरक्षित भए पनि त्रासमा बस्नुपरेको बताए । बाहिरी क्षेत्रबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोक्ने वा निस्तेज पार्ने इजरायलको सुरक्षा प्रणालीमा विश्वास गरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनका अनुसार गत वर्ष हमासले अप्रत्याशित हमला गर्दा इजरायलको सुरक्षा प्रणालीले काम गरेको थिएन ।

इजरायलमा ‘आइरन डोम’, ‘डेभिड्स स्लिङ’ र ‘तीर प्रणाली’ मार्फत क्षेप्यास्त्रको प्रतिरक्षा गरिन्छ । एकैपटक ११ सय क्षेप्यास्त्रलाई निस्तेज पार्न सक्ने दाबी गरिएको छ ।

लेबनानस्थित अवैतनिक नेपाली महावाणिज्यदूत मोहम्मद गोजायलले नेपाली श्रमिकको बाहुल्य रहेको लेबनानको उत्तरी क्षेत्रमा कुनै घटना नभएको बताए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विभिन्न देशले आफ्ना नागरिकलाई लेबनानबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।

अमेरिका, क्यानडा, फ्रान्स, चीनलगायत देशले आफ्ना नागरिकलाई लेबनान छाड्न आग्रह गरेका छन् । ती देशले आफ्ना नागरिकका लागि सरकारी चार्टर उडान र व्यावसायिक उडानको बन्दोबस्त मिलाइरहेका छन् ।

परराष्ट्र मन्त्रालयले लेबनानमा कार्यरत नेपालीले उद्धार गर्न नभनेको र उनीहरूले चाहेको अवस्थामा सरकार उद्धार गर्न तत्पर रहेको जनाएको छ ।