लाल आयोगको रिपोर्ट अगाडि राखेर प्राधिकरणले बिल काट्छ, पैसा लिन्छ : ऊर्जामन्त्री खड्का

लाल आयोगको रिपोर्ट अगाडि राखेर प्राधिकरणले बिल काट्छ, पैसा लिन्छ : ऊर्जामन्त्री खड्का


काठमाण्डु– ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदबाट निर्णय भइसकेपछि बोर्ड बैठक बस्न आवश्यक नरहेको बताएका छन् ।सोमबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले उद्योगहरूको बिजुली जोडिदिइहाल्नु पर्ने बताएका हुन् ।

खड्काले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको पत्र पाएको २४ घण्टाभित्र उद्योगहरुमा काटिएको बिजुली लाइन जोड्ने बताए ।

उनले भने ‘प्राधिकरणको बोर्ड बैठक बस्दै गर्छ, उद्योगहरूको बिजुली जोडिदिइहाल्नु पर्छ ।’‘बिल अनुसारको पैसा उठाउने हो,’‘बिल दिने पैसा उठाउने, लाल आयोगको रिपोर्ट अगाडि राखेर प्राधिकरणले बिल काट्छ र पैसा लिन्छ ।’

लाल आयोगको सिफारिसकै आधारमा बक्यौता उठाउने र सम्बन्धित निकायले यसको अध्ययन गरिरहेको उनले बताए । ऊर्जामन्त्री खड्काले सोमबार नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाए पनि कोरम नपुगेपछि हुन सकेन।

मन्त्रिपरिषद् बैठकले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकले खपत गरेको बिजुलीको बक्यौता रकम टाइम अफ डे (टीओडी) मिटरका आधारमा गणना गरी १५ दिनभित्र असुल गर्न आइतबार ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

मन्त्रिपरिषद्ले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको पत्रमा टीओडी मिटर समेतका आधारमा महसुल निर्धारण तथा असुली सम्बन्धी तत्काल प्रचलित कानुन बमोजिम गणना गरी बक्यौता रकम उठाउन निर्देशन दिइएको छ ।