काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली विशेषता सहितको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ११औं स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा शनिबार आयोजित सभामा उनले यस दशकलाई राष्ट्रिय स्वाधिनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राखे ।
विगतमा नेकपा माओवादीमा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै उनले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैं काम गरिरहने बताए ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाइ गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतारचढाव तथा बिचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको बताए ।
केन्द्रीय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र बेरोजगार लगायत कारण युवा पुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाएका छन् ।
तत्कालीन नेकपा माओवादीबाट अलग भई विक्रम संवत् २०७१ सालमा महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।
प्रतिक्रिया