काठमाण्डु-सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।
कार्यालयमा सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले रविसँग बयान लिइरहेका हुन् । उनलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालय लगिएको हो ।
बिहीबार साँझ काठमाडौं ल्याइएका लामिछानेलाई राति भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको थियो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई थप अनुसन्धानका लागि बयान लिन थालिएको हो । उनीसँगै पक्राउ पुर्जी जारी भएका अर्का आरोपी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयान लिएर पोखरा फिर्ता पठाइसकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए । उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ ।
लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।
प्रतिक्रिया