काठमाण्डु- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले गरेका सबै व्यवस्थालाई यथावत् राख्दै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।
गत साउन ११ गते आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा कुनैपनि नीतिगत फेरबदल भने गरेको छैन । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।
‘अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृष्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको हो,’ राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत भनेको छ, ‘मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध साधनबाट आर्थिक वृद्धिमा सहयोग पुर्याउने गरी तरलता व्यवस्थापन गर्दै गएका छौं ।’
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि चलाएको छैन । अहिलेको अवस्थामा मौद्रिक औजार र नियामकीय औजारमा कुनै परिवर्तन नरहेको निष्कर्षसहित त्यसैलाई निरन्तरता दिएको राष्ट्र बैंकले औंल्याएको छ ।
यस्तै आर्थिक वृद्धिको लक्ष्य पूरा हुने केही आधार समेत केन्द्रीय बैंकले देखाएको छ । खाद्य वस्तुको मुद्रास्फीतिमा केही चाप पर्ने देखिए पनि गैरखाद्य वस्तुको मुद्रास्फीतिमा खासै चाप नरेहकोले मूल्यवृद्धिमा ठूलो दवाव नरहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया