काठमाण्डु-काठमाडौँ महानगरपालिकाले सानो गौचरन रंगशाला पुनःनिर्माण थालनी गरेको छ । महानगर उपप्रमुख सुनिता डंगोलले रंगशाला पुनःनिर्माणको शिलान्यास गरेकी छन् ।
२२ करोड ९५ लाख ९३ हजार ९९९ रुपैयाँ लागतमा रंगाशालाको पुनःनिर्माण थालिएको हो । पुनःनिर्माणको शिलान्यास गर्दै उपप्रमुख डंगोलले महानगरपालिकाले सन्तुलित विकासका लागि खेल पूर्वाधारमा लगानी बढाइएको बताइन् ।
रंगशाला पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले बताए ।
रंगशालाको ड्रइङ्, डिजाइन र लागत अनुमान महानगरपालिकाकै सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो ।
रंगशाला १८ रोपनी १ आना २ पैसा ३ दाम क्षेत्रफलमा निर्माण हुने छ। यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।
रंगशालामा ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ। वरिपरि सीमा पर्खाल हुनेछ। यसमा २८ वटा चारपांग्रे र १७८ वटा २ पांग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ ।
भुईं तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।
रंगशालामा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।
प्रतिक्रिया