काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन र व्यापार क्षेत्रमा लगानी लगायत समसामयिक विषयमा विचारविमर्श भएको थियो ।
त्यसक्रममा उपराष्ट्रपति यादवले नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै दुवै मुलुक साझा संस्कृति र धर्मले बाँधिएको बताएका उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
‘बुद्ध धर्मले २ देश र जनताबीच मित्रता र सहयोगको बलियो बन्धन बनाएको छ,’ उनले भने, ‘विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरूमा २ देशबीच घनिष्ठ सहयोग र समान विचारहरू रहेकाप्रति खुसी व्यक्त गर्दछु ।’
उपराष्ट्रपति यादवले सांस्कृतिक आदानप्रदान, पर्यटन र खेलकुद, कृषि र पशुपालन विकास, विश्वविद्यालय, व्यवसायी समुदाय बीचको सहकार्य सम्बन्धी विभिन्न द्विपक्षीय सम्झौतामा २०२५ मार्चमा हुने ‘बिमस्टेक’ शिखर सम्मेलनका क्रममा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको बताए ।
‘यसले हामीलाई नयाँ क्षेत्रहरूमा सहकार्य गर्ने थप अवसर प्राप्त हुनेछ,’ उनले भने, ‘नेपालमा ऊर्जा, पूर्वाधार, उत्पादन, स्वास्थ्य, आईसीटी र कृषि लगायत क्षेत्रमा सहकार्य आवश्यक छ ।’
उपराष्ट्रपति यादवले सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुको साथै सन् २०३० सम्ममा दीगो विकास लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक बन्ने नेपालको मुख्य प्राथमिकता रहेको बताए । उनले भने, ‘अतः नेपालको यस विकास र समृद्धिका यात्रामा थाइल्याण्डको सहयोग निरन्तर प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।’
उनले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र सहयोगका नयाँ आयाममा सहकार्य गर्ने नेपाल सरकारको प्रतिबद्धता समेत व्यक्त गरे ।
राजदूत सवापोङ्ग सिरिसोर्नले २ देशबीच जनस्तरमा प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध धर्मलाई केन्द्रमा राखेर हेर्दा धेरै कुरा दुवै देशमा साझा रहेको बताए । ‘नेपालमा व्यापारिक सम्भावना धेरै छ । हाम्रो तर्फबाट नेपाल बिजनेश फोरम र थाइ बिजनेस फोरमसँगै बसेर व्यापारको क्षेत्रमा थप के गर्न सकिन्छ भन्ने प्रयास भइरहेको छ ।’
प्रतिक्रिया