एनपीएलको तयारी पूरा, भोलि उद्घाटन गरिँदै

एनपीएलको तयारी पूरा, भोलि उद्घाटन गरिँदै


काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

शनिबारदेखि सुरू हुने प्रतियोगिताको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी १ प्रतिशत काम शुक्रबार रातिसम्म सकिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

एनपीएलका लागि बेहुलीझैं सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही पार्टमा कलर मात्र लगाउन बाँकी छ । प्रतियोगिताको उद्घाटन खेल शनिबार हुनेछ, जसमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ ।

दुवै टोली जीत निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिँदैछन् । जनकपुरका कप्तान अनिल शाहले प्रतियोगितामा राम्रो खेल्दै विराटनगर विरूद्धको खेलमा जीत निकाल्ने विश्वास व्यक्त गरे ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको तयारी राम्रो भएकाले शनिबारको खेल जित्ने दाबी गरे । उनले भने, ‘सबैले जित्नको लागि नै खेल्ने हो, सो हामी पनि जित्नकै लागि खेल्छौं ।’