धनुषा – मंसिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका–३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका–८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई सार्वजनिक गरेको हो ।
मंसिर ८ गते जनकनन्दिनी गाउँपालिका–४ खजुरी र कमला नगरपालिका–२ सरावेको बीच सिमानामा रहेको आमाखोलामा नामथर नखुलेकी एक महिलाको शव प्लाष्टिकको बोराभित्र रहेको अवस्थामा फेला परेको थियो । पछि ती महिला जनकनन्दिनी गाउँपालिका–५ उधा टोल निवासी रेखाकुमारी मण्डल रहेको खुल्न आएको थियो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुंगाले अनुहारमा प्रहार गरी मुर्छित बनाई घाँटी रेटेर हत्या गरेको खुल्न आएको बताए । मृतकसँग विवाह गर्ने सम्बन्धमा विवाद भएपछि घटना भएको देखिएको उनले जानकारी दिए ।
मृतक र खत्वेबीच ५/६ वर्षदेखि रामललित मण्डल खत्वेबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।
प्रतिक्रिया