प्रेस युनियनको निर्णय विपरीतका उम्मेदवारी फिर्ता लिन निर्देशन, अन्यथा निष्कासन

प्रेस युनियनको निर्णय विपरीतका उम्मेदवारी फिर्ता लिन निर्देशन, अन्यथा निष्कासन


काठमाण्डु – नेपाल पत्रकार महासंघको महाधिवेशनमा प्रेस युनियनको निर्णय विपरीतका उम्मेदवारी फिर्ता लिन नेपाल प्रेस युनियनले संगठनका सदस्यलाई निर्देशन दिएको छ ।

मंसिर २८ गते हुने मतदानका लागि निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार उम्मेदवार मनोनयन दर्ता भइसकेपछि युनियनले निर्देशन दिएको हो ।

पत्रकार महासंघको आगामी ३ वर्षे कार्यकालका लागि मंसिर २८ गते मतदान हुँदैछ । महासंघमा दलीय छाप परेको भन्दै धेरै पत्रकारहरूले असन्तुष्टि जनाउँदै छुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय समितिका लागि छुट्टै प्यानल बनाए दर्ता गराएपछि नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले १३ जना आफ्ना सदस्यलाई ४ वर्षका लागि निष्कासन गर्ने गरेको छ ।

बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रेस युनियनले १३ जना सदस्यलाई कारबाही गरेको जनाएको छ । युनियन र प्रेस चौतारी नेपालले संयुक्त प्यानल बनाएर चुनाव लड्ने तयारी गर्दा युनियनका नेता रमेश विष्ट छुट्टै उम्मेदवारी दिएर मैदानमा छन् ।

युनियनबाट निष्कासित हुनेमा विष्टसहित विकास कार्की, श्रीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा, मिन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खड्का र ध्रुव रावल छन् ।