नेता बोकेर भेट्न आउने कर्मचारीबाट आजित भइसके : मन्त्री गुप्ता

नेता बोकेर भेट्न आउने कर्मचारीबाट आजित भइसके : मन्त्री गुप्ता


काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बुधबारदेखि सुरू गरेको ३९औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए । सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए ।

‘मैले मन्त्रालय सम्हालेको ५ महिना बितिसकेको छ,’ मुख्यसचिव अर्याललाई ध्यानाकर्षण गराउँदै मन्त्री गुप्ताले भने, ‘मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या पर्‍यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफैं ‘परेसान’ छु ।’

अब आउने ३९औं ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहोर्‍याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ । ‘कमसेकम तपाईंहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाईंहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाईंहरूलाई धेरै–धेरै शुभकामना छ ।’

कर्मचारीले अध्ययनका साथै आफ्नो क्षमतामा विश्वास गरेर अघि बढ्नुपर्ने उनको सुझाव छ । आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफैं प्राप्त हुने बताउँदै उनले राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउनाका साथै देशको गरिमा समेत जोगिने बताए ।