काठमाण्डु – सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको नवनिर्मित क्याम्पस तथा छात्रावास भवन शुक्रबार हस्तान्तरण गरिएको छ ।
भारतीय दूतावासको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग २ करोड ९२ लाख परियोजना लागतमा निर्माण गरिएको काठमाण्डुस्थित भवन शुक्रबार जिल्ला समन्वय समिति काठमाण्डुका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय दूतावास काठमाण्डुका प्रथम सचिव अविनाशकुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीको समेत उपस्थिति थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग २ तले छात्रावास भवन र अन्य सहयोगी संरचनासँगै २ तल्ले कक्षाकोठा भवन निर्माणमा उपयोग गरिएको थियो । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको र जिल्ला समन्वय समिति काठमाण्डुमार्फत कार्यान्वयन गरिएको थियो ।
जिल्ला समन्वय समिति काठमाण्डुका प्रमुख, शंखरापुर नगरपालिकाका उपमेयर, राजनीतिक प्रतिनिधिहरू र सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसका अध्यक्षले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए । नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुनेछ । यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रमा शिक्षाको समग्र विकासमा योगदान पुर्याउने दूतावासको विश्वास छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस सन् २००० मा स्थापना भएको हो । क्याम्पसले ३ वर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेभल कोर्स (पीसीएल) अध्यापन गराउँदै आएको छ र प्रत्येक वर्ष १२० तालिमप्राप्त नर्स उत्पादन गर्दछ ।
नजिकको छिमेकी भएको नाताले भारत–नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यी परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।
प्रतिक्रिया