राम-सीता नेपाल र भारतका साझा सभ्यता : योगी आदित्यनाथ

राम-सीता नेपाल र भारतका साझा सभ्यता : योगी आदित्यनाथ


जनकपुर – विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान राम र माता सीताको जीवन दुवै देशको धर्म संस्कृति र सभ्यताको अंग भएको बताएका छन् । राम-सीताले पालना गरेको आदर्श र मूल्यहरुले सबैलाई प्रेरणा दिने उनको लिखित सन्देशमा उल्लेख छ ।

योगी आदित्यनाथले लिखित जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । त्यसपछि उनले लिखित सन्देश दिएका हुन् । उनले जनकपुरधाममा पूजाअर्चना गर्न र महाराज जनकको भूमिको यात्रा गर्न पाएकोमा आफू धन्य भएको उल्लेख गरेका छन् । साथै आफ्नो प्रतिनिधिमण्डलको भव्य स्वागत गरिएकोमा उनले नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिएका छन् ।

योगी आदित्यनाथले दिएको लिखित सन्देशः

विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजाअर्चना गर्न र विदेहराज महाराज जनकको भूमिमा यात्राको अवसर प्राप्त भएकोमा आफूलाई धन्य मान्दछु । भगवान श्रीराम र माता सीताजीको जीवन हाम्रा दुवै देशको धर्म, संस्कृति र सभ्यताका अभिन्न अंग हुन् ।

उहाँहरुले जुन आदर्श र मूल्यको पालन गर्नुभयो, त्यो सार्वभौम छ र हामी प्रत्येकलाई त्यसले प्रेरणा प्रदान गर्दछ । मेरो साथमा आएको प्रतिनिधिमण्डललाई भव्य स्वागत गर्नुभएकोमा म नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिन चाहन्छु । म भारत सरकार र जनताको तर्फबाट नेपालका जनतालाई सुख तथा समृद्धिका शुभकामना दिन चाहन्छु ।