भीमदत्त र परशुराम नगरपालिकाबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर

भीमदत्त र परशुराम नगरपालिकाबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर


महेन्द्रनग – भीमदत्त नगरपालिका र परशुराम नगरपालिकाबीच आपशी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पर्यटन प्रवद्र्धन, अनुभव आदानप्रदान , विकास निर्माण कार्यमा सहकार्यका लागि दुबै नगरपालिकाले सहकार्यका लागि सम्झौता गरेका छन् ।

भीमदत्त नगरपालिका कार्यालयमा शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँदले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुबै नगरपालिकाका प्रमुखले समझदार पत्रमा हस्ताक्षर गरी समझदारी पत्र एक आपशमा आदानप्रदान गरेका हुन्।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरप्रसाद शर्मा र परशुराम नगरपालिकाका सूचना प्रविधि अधिकृत हरिश ठगुन्ना रोहवरमा गरिएको समझदारी पत्र ९ खण्डमा विभाजन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, विकास निर्माणमा सहकार्य र आपशी अनुभव आदानप्रदानका लागि परशुराम नगरपालिकासित सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको बताए ।

‘दुबै नगरपालिका प्राकृतिक रुपमा स्रोत साधन सम्पन्न छन्, मुलुक, नगर, गाउँ समृद्धिका लागि स्रोत साधनको परिचालन आवश्यक छ’ हस्ताक्षर कार्यक्रममा नगर प्रमुख विष्टले भने,‘जनताको अपेक्षा अनुसार विकास निर्माणका कार्य अपघ बढाई रहेका छौ, समृद्धिका विभिन्न आधार पहिचान गरी अघि बढेका छौ, आपशी सहकार्य र समन्वयमा पर्यटन प्रवद्र्धन पूर्वाधार विकास लगायतका कार्य गर्न समझदारी गर्न समझदारी गरिएको छ ।’

विकासका लागि सहकार्य आवश्यक भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले परशराम नगरपालिकाका नगर प्रमुख साउँदले सहकार्यको प्रस्ताव सहर्ष स्वीकार गरेकोमा धन्यवाद दिए । ‘अब समझदारी अनुसार हस्ताक्षर गरिएका प्रतिवद्धता पूरा गर्न लाग्छौ’ नगर प्रमुख विष्टले भने,‘धार्मिक, साँस्कृतिक, ऐतिहासिक परशुराम क्षेत्रका भ्रमण, अवलोकन, प्रचारप्रसार र पूर्वाधार विकासका लागि तयारी गरेर जानु पर्छ ।’

महाकाली नदीको बहु उपयोगका लागिका लागि दुबै नगरपालिकाले सहकार्य गरी अघि बढ्ने उल्लेख गर्दै उनले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ्ग) सञ्चालनका लागि छलफल अघि बढेको बताए । चुरे क्षेत्रमा पर्ने बड्डी मलास क्षेत्रलाई अध्ययन केन्द्र बनाउन सकिने नगर प्रमुख विष्टले बताए । ‘बड्डी मलास क्षेत्र अध्ययन केन्द्र हुन सक्छ, त्यहाँसम्म बाटो पुगाउन आवश्यक छ’ नगर प्रमुख विष्टले भने,‘झिलमिला ताल, दरबारका भग्नावशेष संरक्षण लगायतका कार्य गरिनु पर्छ, त्यसका लागि पनि सहकार्य गरेर जान्छौ ।’

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्य गरिने नगर प्रमुसख विष्टले बताए । भीमदत्तले नगरसित सीमा जोडिएका वा नजोडिएका स्थानीय तहसित सहकार्यका लागि समझदारी गरी जाने नगर प्रमुख विष्टले बताए । परशुराम नगरपालिकाका नगर प्रमुख साउँदले सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षरपछि पर्यटन, पूर्वाधार, विकास निर्माण, वन पैदावार, जैविक विविधता संरक्षण, चोरी शिकारी नियन्त्रण लगायतका कार्यमा सहकार्य गरिने बताए ।

‘आज म निकै खुसी छु, भीमदत्तका नगर प्रमुखज्यूले जुन प्रस्ताव गरे, यसबाट खुसी छु, अब यसबाट विकास निर्माण, पर्यटन सबै क्षेत्रमा सहकार्य हुन्छ । भीमदत्त नगरपालिका सुदूरपश्चिम प्रदेशको पूरानो र व्यवस्थित नगरपालिका भएको उल्लेख गर्दैै नगर प्रमुख साउँदले नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी पर्यटकीय स्थलमा दुबै नगरपालिका मिलेर पूर्वाधार बनाउने नगर प्रमुख साउँदले बताए ।

स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकामा विकास निर्माणका धेरै कार्य भएको उल्लेख गर्दै नगर प्रमुख साउँदले परशुराम क्षेत्रका धार्मिक पर्यटकीय विकासका लागि भीमदत्त नगरपालिकाबाट सहयोगको अपेक्षा गरिएको बताए । नौ खण्डको समझदारी पत्रको पहिलो खण्डमा उद्देश्य, दोस्रोमा कानुनी हैसियत, तेस्रोमा कार्य क्षेत्र, चौथोमा शर्तहरु, पाँचौमा समझदारी कार्यान्वयनका लागि स्रोतको व्यवस्था, छैठौमा संयुक्त कार्यदल सम्बन्धी व्यवस्था, सातौमा संशोधन, आठौंमा विवादमा समाधान र नवौमा समझदारीको समय अवधि उल्लेख गरिएको छ ।

समझदारी पत्रको तेस्रो बुँदामा भीमदत्त नगरपालिकाका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल, झिलमिला ताल, भम्केनी धाम, बाह्रकुण्डा, राना थारु संस्कृति, भीम वाटिका, सिद्धनाथ मन्दिर, खल्ला मछेट्टीको प्राचिन सिद्धनाथ बाबाको मन्दिर, ५२ कोठे दरबार, कालिताल झरना, महाकाली नदीको मौन स्थान, विष्णु मन्दिर, रौटेला मन्दिर, घटाल मन्दिर, महाकाली मन्दिर, कल्पठ्या मन्दिर, शिवधाम क्षेत्र, ब्रह्मदेब मण्डी तथा परशुराम नगरपालिकाका परशुरामधाम, भागेश्वर मन्दिर, सिद्धनाथ बैजनाथ मन्दिर, सिद्धसर(शिर्ष), पन्तुरा शैलेश(लिङ्गा), सिद्ध गुफा, एला तिर्थ, बोडा ताल, लालढुङ्गा सिमसार, समैजी मन्दिर, हिमाल दर्शन, नाउला, कौवानी र मलास, प्याराग्लाइडिङ्ग, ¥याफ्टिङ्ग, मलास कोट, चाँई कोट, नङर कोट, बाईस ओखल लगायतका धार्मिक, पर्यटकीय स्थलको विकास र विस्तारका लागि संयुक्त रुपमा प्रवद्र्धनका कार्यक्रम गरिने उल्लेख गरिएको छ ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा भीमदत्त नगरपालिका नगर विष्ट, उप प्रमुख सुशिला चन्द सिह, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा, जनप्रतिनिधि, कर्मचारीहरु सहभागी भएका छन् । भीनपाका प्रशासकीय अधिकृत हरि सिह धामीले कार्यक्रम सञ्चालन र समझदारी पत्र वाचन गरेका थिए । यस अघि भीनपा र अमरगढी नगरपालिकाबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।