पर्सामा प्रहरी र तस्करबीच झडप, प्रहरी सहायक निरीक्षकसहित चार घाइते

पर्सामा प्रहरी र तस्करबीच झडप, प्रहरी सहायक निरीक्षकसहित चार घाइते


वीरगञ्ज – गएराती तीन बजेको समयमा नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगननाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । आक्रमणमा ४ प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तस्करहरुलाई गाउँले समेतले साथ दिई प्रहरीमाथि आक्रमण भएको हो । तस्कर समूहसहित करीब दुई सय जनाको संख्याका स्थानीयले जगननाथपुरमा रहेको प्रहरी चौकी घेराउ गर्दै प्रहरीमाथि आक्रमणमा उत्रिएका हुन् । स्थानीय र तस्कर समूहको आक्रामणबाट प्रहरी सहायक निरीक्षक विष्णु देव यादव, जयकिशन महतो, प्रहरी हवल्दार प्रेम राना र जवान अर्जुन चौधरी घाइते भएका छन् ।

तीमध्ये टाउकोमा गम्भिर चोट लागेका प्रहरी जवान चौधरीको अवस्था चिन्ताजनक छ । उनको वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । अन्य तीन जना घाइतेहरुको भने वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । पाँडेपुर र सीमावर्ती भारतीय गाँउका तेल तस्करहरुले प्रहरीको साथबाट थ्री नट थ्री राइफल पनि खोसेर भागेका थिए । प्रहरीबाट तस्करहरुले खासेको राइफल भने घटनास्थल नजिकैको खेतमा फेला परेको छ ।

घटनाको खबर पाए लगत्तै सदरमुकाम वीरगन्जबाट प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गएको सुरक्षाकर्मीहरुको टोलीले खोजतलास गर्दा खोसिएको हतियार फेला परेको पर्साका प्रहरी नायव उपरीक्षक मान बहादुर राइले जानकारी दिए । घटनामा नेपाल र भारत दुबै तर्फका अपराधी संलग्न रहेकाले उनीहरुको खोजी भइरहेको उनले बताए ।

घटनास्थलमा बिहानैदेखि प्रहरी नायव उपरीक्षक राईको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । भारतमा भन्दा नेपालमा इन्धन सस्तो पर्ने भएकाले पछिल्लो समय नेपाल–भारत सीमामा तस्करी गर्ने सिलसिला चल्दै आइरहेको छ । सरकारले यसको नियन्त्रण गर्ने बताउँदै आए पनि त्यसो हुन सकेको छैन ।