फूलचोकी जंगलमा हराएका १६ जनाको सकुशल उद्धार

फूलचोकी जंगलमा हराएका १६ जनाको सकुशल उद्धार


काठमाडौं – प्रहरीले फुल्चोकी जंगलमा हराइरहेका १६ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ। शनिबार मध्यान्ह घुम्न गएका ४ युवतीसहित १६ जना जंगलमा हराएका थिए। प्रहरीले उनीहरूलाई गोदावरी बसपार्कबाट १० किमि पूर्व फुल्चोकी जंगलको बीच खोँचबाट शनिबार साँँझ करिब पौने सात बजे उद्धार गरेको हो।

१२ किशोर तथा ४ किशोरीलाई फेला पारी प्रहरीले सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।शनिबार साँझ ५: ३० बजे ललितपुर गोदावरी न.पा. वडा ( ३, फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना व्यक्तिहरू हराएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँ समेत बाट गरी ७ वटा छुट्टाछुट्टै टोली खोजी तथा उद्धारको लागि परिचालित भएका थिए।

उनीहरू शनिबार बिहान घुम्न भनेर फुल्चोकी पुगेका थिए। बाटो बिराएपछि अलपत्र परेको अवस्थामा प्रहरीले उद्धार गरेको हो। प्रहरीले उद्धार गरेकाहरूमा धनुषाका ब्रिजमोहन साह, सुवास साह, अभिषेक यादव, ऋषि कुमार साह, श्रीराम साह, करण साह,सुवास साह रहेका छन्।

यस्तै, उद्धार गरिएकामा स्याङ्जाकी सपना गुरुङ, तनहुँकी सिर्जना भट्टराई, काठमाडौंका अविनभसिंह ठकुरी, सिन्धुपाल्चोकका रोशन राना र दोलखाका रमेश पौडेल रहेका छन्। यस्तै, उद्धार गरेकामा मोरङका संजोग घिमिरे, काठमाडौंकी अप्सरा खत्री, नुवाकोटकी श्रेया थपलिया र धनुषाका सन्तोष कुमार साह रहेका प्रहरीले जनाएको छ।