समृद्धिको सपनामा गोल्यान ग्रुपको साथ : उत्पादन र निर्यात बृद्धिमा महत्त्वपूर्ण हात !

समृद्धिको सपनामा गोल्यान ग्रुपको साथ : उत्पादन र निर्यात बृद्धिमा महत्त्वपूर्ण हात !


काठमाडौं – विकास र समृद्धिको सपना पूरा गर्नु सरकारी स्तरबाट मात्रै सम्भव छ ? अवश्य नै छैन । देशको विकास र समृद्धिका लागि निजी क्षेत्र र हरेक व्यक्तिले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ । व्यक्तिगत र निजी क्षेत्रको प्रयासमा सरकारी नीति र सहुलियत सहयोगी हुनुपर्छ । व्यक्ति, समूह, संस्था र सरकारको संयुक्त प्रयासमा देशलाई समृद्ध बनाउन सकिन्छ । निजी क्षेत्रबाट समृद्धिको सपना पूरा गर्न योगदान गरिरहेको समूह हो गोल्यान ग्रुप ।

गोल्यान ग्रुपको ध्यान विदेश वस्तु आयात गरेर विक्रीवितरण गर्दै चर्काे नाफा कमाउनुमा छैन । ग्रुपले आन्तरिक उत्पादन बढाउँदै स्वदेशमै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र वस्तु निर्यात गर्नेतिर ध्यान दिएको छ । समृद्धिको सूचकमा रोजगारी र निर्यातको भूमिका महत्त्वपूर्ण हुन्छ । धागो उद्योगमा सफलता गोल्यान ग्रुपको लगानीमा धागो उत्पादन गर्ने सुनसरीको इटहरीस्थित रिलायन्स स्पिनिङ मिल्सले चार हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ । नेपाली धागो उद्योगमा कार्यरत कामदारमध्ये उद्योगले धेरै रोजगारी दिएको रिलायन्स स्पिनिङका अध्यक्ष पवन गोल्यानले बताए । ‘एउटै छानामुनि चार हजार कामदार । त्यसमा पनि १८ सय महिला छन् । यी सबै नेपाली नागरिक हुन् । यस्तो उद्योग नेपालमा अरू कुनै छैन,’ गोल्यानले भने ।

धागो उद्योगले रोजगारी मात्रै दिएको छैन, वस्तु निर्यातको ठूलो हिस्सा ओगटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७४-७५ मा ८ अर्ब ४२ करोडको धागो निकासी भएको छ । निकासीमध्ये टर्कीमा ४ अर्ब ५९ करोड र भारतमा ३ अर्ब ७६ करोड रुपैयाँको खपत भएको छ । धागो निकासीमा रिलायन्स स्पिनिङ सँगसँगै निजी स्तरका त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल्सको योगदान छ । सरकारी स्वामित्वको बुटवल धागो उद्योग हाल बन्द छ । विदेश निर्यात हुने वस्तुमध्ये धागो सबैभन्दा धेरै निर्यात हुने नेपाली वस्तु बनेको छ । यसमा गोल्यान ग्रुपको लगानी रहेको रिलायन्स स्पिनिङको महत्त्वपूर्ण योगदान छ । गोल्यान ग्रुपले वस्तु निर्यातमा गरेको योगदानले देशको अर्थतन्त्रमा थोरै भएपनि विदेशी मुद्रा भित्र्याउन योगदान गरेको छ ।

कृषिमा प्रवेश
धागो उद्योगको सफलतापछि गोल्यान ग्रुपले अब कृषि उत्पादनमा आक्रामक प्रवेश गरेको छ । कृषिलाई गुजारा चलाउने पेशाको रुपमा मात्रै प्रयोग गर्ने गरिएकोमा ग्रुपले ठूलो लगानीसहित कृषिमा हात हालेको छ । गोल्यान ग्रुपले झापाका विभिन्न स्थानमा व्यावसायिक कृषिकै लागि २ सय बिघा जग्गा खरिद गरी प्रारम्भिक चरणको काम शुरू गरिएको ग्रुपका अध्यक्ष पवनकुमार गोल्यानले बताए । ६० करोड रुपैयाँको लगानीमा व्यावसायिक कृषिको थालनी गरिएको उनले बताए । झापाको शिवसताक्षी गाउँपालिकाको मदरगाछल, चकचके, घेराबारी, गैरीगाउँ लगायत ठाउँमा २ सय बिघा जग्गा खरिद गरिएको छ ।

नेपाल एसबीआई बैंक र जनता बैंकबाट ऋण लिएर ४० करोड रुपैयाँ लागतमा जग्गा खरिद गरिएको छ । जग्गामा माटो परीक्षण तथा बाली लगाउने र अन्य अनुसन्धानका लागि थप २० करोड रुपैयाँ खर्च हुने ग्रुपले जनाएको छ । ‘देशमा कृषि क्षेत्रको विकास भएन भने सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले सार्थकता पाउँदैन,’ गोल्यानले भने, ‘निजी क्षेत्रको सक्रियताले सरकारी नीति र योजना प्रभावकारी रुपमा सफल हुन्छन् ।’

ग्रुपले पहिलो चरणमा विषादीमुक्त र दोस्रो चरणमा पूर्ण अर्गानिक कृषि उत्पादन गर्ने योजना बनाएको छ । उनले भने, ‘शुरूमा प्रदेश १ र २ मा व्यावसायिक कृषि खेतीमा जोड दिन्छौं । भविष्यमा व्यावसायिक कृषि खेतीलाई पहाडी क्षेत्रमा पनि विस्तार गर्नेछौं ।’ ग्रुपले हाल स्ट्रबेरी, कागती, रेड लिली पपैया, अदुवा, बेसार, तर्बुजा, विभिन्न तरकारी र फलफूलको बिरुवा रोप्ने काम शुरू गरिसकेको छ । केही किसान गाईभैसी पालनतिर पनि लागेका छन् । ग्रुपको काममा आश्रय नेपालकी सञ्चालक खुस्बु ओलीको सहकार्य र साथ रहेको छ ।

सरकारी सहयोगको अपेक्षा
निजी क्षेत्रबाट भइरहेको प्रयासमा सरकारीस्तरबाट पर्याप्त सहयोग पाउन नसकिएको गोल्यान बताउँछन् । धागो उद्योगलाई बजारमा प्रतिस्पर्धी बनाउन सरकारले सहुलियत दिनुपर्ने उनको तर्क छ ।  विद्युत् महसुल, ब्याज र नयाँ मेसिन झिकाउँदा पार्टपूर्जामा लाग्ने भन्सार सहुलियत दिनुपर्ने माग उद्योगीको छ । तर सरकारले यी पक्षमा ठोस निर्णय दिन सकेको छैन । सरकारले धागो निर्यात गरेबापत भने उद्योगीलाई ३ प्रतिशत सहुलियत दिँदै आएको छ ।