सुत्केरी भत्ता गायब !

सुत्केरी भत्ता गायब !


शेरिफ केसी/जितपुर–  कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन्।

साउनयता १ सय ८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ। सुत्केरी भत्ताको निकासा वाणगङ्गा नगरपालिकाले नगरेकाले भुक्तानी दिन नसकिएको अस्पतालको भनाइ छ।

चालू आर्थिक वर्ष २०७५-२०७६ साउनदेखि मंसिरसम्ममा अस्पतालबाट सुत्केरी भएका र नियमित गर्भजाँच गराएका १ सय ८९ महिलाले उक्त सुविधा लिन नपाएको अस्पतालका डा देवी श्रेष्ठले जानकारी दिए।

तर, नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक कमल ज्ञवालीले सुत्केरी भत्ता समयमै निकासा भएर अस्पतालमै गएको दाबी गर्नुभएको छ । सुत्केरी भत्ता भनेर स्थानीय सरकारले (स्थानीय तहले)  एक हजार र गर्भवती भएको चार पटकसम्म स्वास्थ्य संस्थामै जाँच गराएबापतको  ८ सय यातायात खर्चसहित  एक हजार ८ सय पाउने प्रावधान रहेको छ।

सेवाग्राहीले वाणगङ्गा नगरपालिकाले उक्त सेवा सुविधा नदिएको बुझेका छन् । तर नगरका स्वास्थ्य शाखाका संयोजक ज्ञवालीले समयमै निकासा भएको बताएपछि सो रकम कहाँ गयो ?  गम्भीर प्रश्न खडा भएको छ ।

साउन १ देखि नगरपालिकाले दिने भनिए पनि नगरपालिकाबाट उक्त सुविधा नदिएको पिपरा अस्पतालकी नर्सिङ इञ्चार्ज पुतला खनालले दाबी गरे।  ‘अस्पतालमा आउने सुत्केरी महिलालाई नगरपालिकाले बजेट दिएको छैन भनेर पठाउने गरेका छौँ,’ खनालले भने।

अस्पतालको तथ्यांक अनुसार १  सय ८९ जना सुत्केरीले पाउनुपर्ने एक हजार ८०० का दरले हुन आउने  तीन लाख ४० हजार २ सय कहाँ गयो भन्नेबारे छानवीन पार्न नागरिक समाजले माग गरेको छ। उता नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञवालीले भने साउन १ गतेदेखि नै मासिकरुपमा निकासा दिएको दाबी गर्नुभएको छ। पिपरा अस्पतालले परिवार नियोजनसम्बन्धी साधन, गर्भवती जाँचलगायतका सेवासुविधा उपलब्ध गराउँदै आइरहेको छ।

गर्भवतीका समयमा पहिलोपटक चार महीनामा, दास्रोपटक छ महीनामा, तेस्रोपटक आठ महीनामा र चाैथोपटक नौ महीनामा गरी कम्तीमा चारपटक जाँच गर्न आएमा ती महिलालाई यातायात र न्यानो कपडा एक सेट पाउने अधिकारबाट यस क्षेत्रका सुत्केरी महिला बञ्चित भएका छन्। साउनअघि भने सुत्केरी महिलालाई यो सुविधा दिने गरेको वाणगङ्गा नगरपालिका–२ पिपरा कपिलवस्तु, पिपरा अस्पतालकी नर्सिङ इञ्चार्ज खनालले जानकारी दिए।  साउनदेखि नगरपालिकाले दिने भने पनि अहिलेसम्म सेवाबापतको रकम नदिएको उनले प्रष्ट्याए।

गत वर्ष २०७४-२०७५ मा २३० जना महिलाले यहाँबाट उक्त सुविधा लिएका थिए भने विसं २०६९ मा स्थापना भएको अस्पतालले सुत्केरी सुविधा दिँदै आइरहेको अस्पतालले जनाएको छ। अस्पतालमा प्रत्येक महीना कम्तीमा ४०–५० महिला स्वास्थ्य उपचार गराउन आउने गरेका छन्।