स्विट्जरल्यान्डबाट फर्किए प्रधानमन्त्री अाेली

स्विट्जरल्यान्डबाट फर्किए प्रधानमन्त्री अाेली


काठमाडौं – स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी हुन गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनमा आफूले राखेका धारणाबारे जानकारी गराए। लोकतन्त्रको भविष्य, प्रेस र मिडिया लगायतका विषयमा नेपालको धारणा प्रस्तुत गरेको भन्दै उनले जिम्मेवार पत्रकारिता र पत्रकारको भूमिकाबारे बताएको उल्लेख गरे।

प्रेस अत्यन्त महत्वपूर्ण भएकाले यो जिम्मेवार हुनुपर्छ, उनले भने, अरुको अधिकारको सम्मान गर्नुपर्छ। समाजलाई गलत सूचनाबाट हानि पुर्‍याउने काम पत्रकारले गर्नुहुन्न।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी गराएका थिए।

डाभोस सहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो।