कांग्रेसले संसद चल्न नदिनु प्रजातन्त्रको उपहास : विद्यासुन्दर शाक्य

कांग्रेसले संसद चल्न नदिनु प्रजातन्त्रको उपहास : विद्यासुन्दर शाक्य


काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय संसद् चल्न नदिएर प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रजातन्त्रको उपहास गरिरहेको टिप्पणी गरेका छन्।

मेयर शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै अप्ठयारोमा पार्ने गरी जनमतको अपमान गर्ने काम कांग्रेसले गरिरहेको आरोप समेत लगाए। जनताबाट निर्वाचित भएर आएकाहरूलाई कामै गर्न नदिएर कांग्रेसले सहिदहरुले देखाएको बाटोमा समेत अवराध खडा गरिरहेको उनको दाबी थियो।

आइतबार सहिद सप्ताह कार्यक्रमअन्तर्गत सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको काठमाडौंको सिफलमा आयोजित स्मृति सभामा बोल्दै उनले सहिदहरुको सपना पूरा गर्न र मुलुकलाई जनमत अनुसार अघि बढाउन जनता आफैँ अग्रसर हुने बेला आएको पनि स्पष्ट धारणा व्यक्त गरे।

मेयर शाक्यले सहिदहरुले देखाएको बाटौबाटै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे। वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर धर्मभक्त माथेमालाई प्राणदण्ड दिइएको थियो। वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मेका माथेमालाई तत्कालीन जहाँनिया राणा शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई मृत्युदण्ड दिइएको थियो।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए। निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु, पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो।