टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि सुन्दरहरैंचामा तनावग्रस्त, निषेधाज्ञा जारी

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि सुन्दरहरैंचामा तनावग्रस्त, निषेधाज्ञा जारी


मोरङ – मोरङको सुन्दरहरैंचा नगरपालिका-९ मा टिपरको ठक्करबाट वालिकाको मृत्यू भएपछि अहिले तनावग्रस्त बनेको छ।

सोमबार बिहान विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा-९ की लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीयले आगजनी र तोडफोड गरेका हुन् ।

बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ठक्कर पछि भाग्न खोज्दा उक्त टिपर बेलेपुर चोकमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको टिपरलाई स्थानीयले आगो लगाउनुका साथै आधा दर्जन टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेकोले त्यहाँको स्थिती तनावग्रस्त रहेको छ।स्थानीय बासिन्दाले टिपर आतंक रोक्नुपर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिती असामान्य बनेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुंगामुडा गरिरहेका छन्।

यसैबीच मोरङ प्रशासनले स्थिति नियन्त्रणमा लिन उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । ११ बजेबाट जारी निषेधाज्ञा अर्को आदेश नभएसम्म रहने मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् ।उक्त क्षेत्रमा स्थानीय प्रशासनले व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रजिअ केसीका अनुसार विराटचोकबाट दक्षिण बेलेपुर उत्तर, सुकुना क्याम्पस पश्चिम बुधबारे चोकसम्म निषेधाज्ञा लागू गरिएको छ । तर, स्थानीयले निषेधाज्ञाको अवज्ञा गरेर प्रदर्शन गरिरहेका छन् ।