झापा कपमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत

झापा कपमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत


झापा – बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा शनिबारदेखि सुरु भएको ‘झापा कप–२०८१’ प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फूटबल क्लबले विजयी सुरुआत गरेको छ ।

आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीका लागि राष्ट्रिय टोलीका ‘स्ट्राइकर’समेत रहेका खेलाडी जिलेस्पीजङ्ग कार्की र दिशान्त राईले गोल गरेका थिए । खेलको २५औं मिनेटमा कार्कीले मोरङका डिफेण्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । उनले मैदानको मध्यभागमा ‘सिङ्गल’ खेल्दै बललाई ‘पोस्ट’को दिशा दिए ।
आर्मीका लागि अर्काे गोल खेलको ८२औं मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको ‘पास’मा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जीत सुनिश्चित गरेका हुन् ।

खेलको ४७औं मिनेटमा ‘अनमार्क’ रहेका दीपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो ।

खेलको ‘प्लेयर अफ दी म्याच’ आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । आईतबारको खेल आयोजक झापा ११ फूटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आगामी पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रतियोगितामा नेपालका ९ र भारतको एउटा गरी १० वटा क्लबको सहभागिता रहेको छ ।

खेलको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।