काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।
चीनको छन्दु शहरमा शुक्रबार अपराह्न उनीहरूबीच वार्ता भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा. राणा बिहीबार त्यसतर्फ गएकी थिइन् ।
उनीहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने २ देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिएकी थिइन् ।
वार्ताका क्रममा चीनको ७५औं स्थापना दिवस र आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई ज्ञापन गरेकी थिइन् ।
मन्त्री डा. राणाले पछिल्लो समय नेपाल–चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिइन् ।
नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उनले बताइन् ।
पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरूले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैं सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उनले व्यक्त गरिन् ।
वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल–चीनबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको उनले बताइन् । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
भेटपछि परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताले नेपाल–चीन सम्बन्धमा नयाँ उचाइ थपेको र २ देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको बताइन् ।
भेटका क्रममा २ देशबीचको सदियौं पुरानो सम्बन्ध, नेपालको आर्थिक सामाजिक लगायतका क्षेत्रमा चीनले पुर्याउँदै आएको सहयोग, आगामी दिनमा पनि सहयोग र सहकार्यका नयाँ क्षेत्रहरूको पहिचानका साथै आर्थिक विकासका लागि सहकार्यलाई प्राथमिकता दिनेबारे कुराकानी भएको थियो ।
वार्तामा मन्त्री डा. राणाको नेतृत्वमा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, चीनको छन्दुस्थित नेपाली महावाणिज्यदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।
यसैबीच, शुक्रबारै साँझ चिनियाँ विदेशमन्त्री वाङले मन्त्री डा. राणा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।
भोजमा सहभागी हुँदै मन्त्री डा. राणाले प्रधानमन्त्री ओली र आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेकामा चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् । त्यस अवसरमा उनले २ देशबीच सरकार स्तरमा मात्र नभएर जनता–जनताबीच धेरै पुरानो र सुमधुर सम्बन्ध रहिआएको चर्चा गरिन् । मन्त्री डा. राणा शनिबार नेपाल फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया