काठमाण्डु – पुराना कम्युनिष्ट नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर राजीनामा मागेको खुलासा भएको छ ।
शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वामदेवले आफूलाई फोन गरेर राजीनामा मागेको जानकारी दिए ।
उनले भने, ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने मदन भण्डारीलाई कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो तर म चुप लागें । अब म बुढो पनि भइसकें, जेसुकै भए पनि मलाई केही छैन । अब केपी ओलीले प्रधानमन्त्रीबाट र पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ भन्दैऊ तिम्रो ठूलोबालाई भनेर । कुरा चाहिँ मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश (स्वकीय सचिव) ठानेर कुरा गर्दै हुनुहुन्थ्यो ।’
नेता गौतमको नम्बरबाट फोन आएको देखेपछि राजेश बज्राचार्यबाट फोन लिएर आफूले कुरा गरेको प्रधानमन्त्री ओलीले बताए ।
उनले भने, ‘कमरेड के छ हालखबर भनें, ठीकै छ भन्नुभयो, कुरा गर्दै गइयो । अन्तिममा त तिम्रो ठूलोबालाई भन्देऊ – प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भनेर । यस्तो अपराध गरेर बस्न पाइन्छ भनेर वामदेवजी एकछिन पड्किनुभयो । हस् हजुर भनेर भनें मैले । के बहस गरिराख्नु, उहाँलाई समेत भ्रम पर्ने गरी कसैले भिडिओ बनाएछ ।’
प्रविधिको जमानामा भ्रम हुने गरी कसैले भिडिओ बनाएको र त्यो भिडिओ सुनेर वामदेवले फोन गरेको उनले बताए । उनले भने, ‘यूटुयुबमा मेरो भनिएको आवाज चिन्नुभयो, म उहाँसँग मोबाइलमा कुरा गरिरहेको छु, त्योचाहिँ चिन्नु भएन तर त्यो भिडिओ मेरै आवाजमा कसैले बनायो होला, एआईको जमाना छ । कांग्रेस र हाम्रोबीचमा लडाइँ लगाउने हिसाबले ।’
प्रतिक्रिया