डेडिकेटेड र ट्रंकलाइनको महशुल विवादमा न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह

डेडिकेटेड र ट्रंकलाइनको महशुल विवादमा न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह


काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युत्को महशुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत् महशुलबारे विद्युत् प्राधिकरण र उद्योगीबीच मतभिन्नता हुँदा समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने चेम्बरले उल्लेख गरेको छ ।

चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युत् प्राधिकरण र व्यवसायीबीच पछिल्लो समय देखिएको मतभिन्नताप्रति चेम्बरको ध्यानाकर्षण भएको छ, उद्योगमैत्री वातावरण र लगानीमा समेत यसले असर गर्ने निश्चित छ ।’

प्राधिकरण र उद्योगीबीच समस्या समाधान नभए यसले रोजगारी र राजस्व संकलनमा समेत असर गर्ने चेम्बरको ठहर छ । महशुल सम्बन्धमा न्यायोचित समाधान खोज्न वित्तीय र प्राविधिक सहितको छानबिन समिति बनाउन पनि चेम्बरले आग्रह गरेको छ ।

लगानी र व्यवसायमैत्री वातावरण सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र दुवैको उत्तिकै भूमिका भएकाले न्यायोचित समाधान गरेर अघि बढ्न चेम्बरले ध्यानाकर्षण गराएको छ । लामो समयदेखि शिथिलताबाट गुज्रिँदै आएको अर्थतन्त्रलाई निकास दिनुको विकल्प नभएको यथार्थबीच तत्काल समाधान खोज्न र विवाद थप अघि नबढाउन पनि चेम्बरले सुझाव दिएको छ ।