बस दुर्घटनाबारे ब्रिफिङ गर्दै गृहमन्त्रीले भने–घाइतेहरूकाे उपचारमा कुनै कसर बाँकी राख्दैनाै

बस दुर्घटनाबारे ब्रिफिङ गर्दै गृहमन्त्रीले भने–घाइतेहरूकाे उपचारमा कुनै कसर बाँकी राख्दैनाै


काठमाण्डु–२७ जना भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा शनिबार गृह मन्त्रालयले भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान गृहमन्त्री रमेश लेखकले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्दार तथा घाइतेहरुको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराएका हुन् ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।

गृहमन्त्री लेखक र भारतीय राज्य मन्त्री खड्सेले त्रिभुवन शिक्षण अस्पतालमा रहेका घाइतेहरुको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए ।

त्यसपछि मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै गहृमन्त्री रमेश लेखकले दुखद् घटना भएको बताए ।उनले मृतकका आफन्तलाई समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

“ घाइतेहरुको उपचारका कुनै कसर बाँकी राख्दैनौ ।” मन्त्री लेखकले भने–“ घटना लगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्दारमा खटिएको थियो ।”

त्यसैगरी भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्दारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरिन् ।उनले घाइतेहरुको उपचारमा चिकित्सकहरुले देखाएको सक्रियताको प्रशंसा गरिन् ।“ दुर्घटना परी केही मेरै आफन्तको पनि मृत्यु भएको छ ।” उनले भनिन्–“ उद्दारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद ।”

गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आइसियु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुक रहेको छ ।

शुक्रबार घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । सो बसमा ४३ जना यात्रु सवार थिए ।
त्यसैगरी मृतकहरुको चितवनको भरतपुर अस्पतालमा शव परीक्षण भइरहेको छ ।

गृहमन्त्री लेखक संगको भेटपछि भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्से चितवनस्थित भरतपुर अस्पताल जाने कार्यक्रम तय भएको छ । शव परीक्षणपछि शवहरु भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ ।