काठमाण्डु – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीले गरेको एमसीसी पास गर्ने निर्णयको विरोध गरेका छन् ।
समाजिक सञ्जालमार्फत आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकलाई अवैधानिकको संज्ञा दिँदै नेता न्यौपानले एमसिसीको पक्षमा उभिने निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । न्यौपानलेले अध्यक्ष प्रचण्डलाई लक्षित गरी माओवादी पार्टी एकाध व्यक्तिको निजी क्लब नभएको टिप्पणी गरेका छन् ।
‘नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको छ। महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ‚’ नेता न्यौपानेले भनेका छन्, ‘एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसिसीजस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमालेजस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने? यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने।’
हालको पार्टी केन्द्रीय समितिको निर्णयबाहेक अरुले गर्ने निर्णय अधिकारिक नहुने उनको भनाइ छ । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता नभएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘माओवादी राष्ट्रघात गर्ने पार्टी होइन, माओवादी एकाध व्यक्तिको निजी क्लब होइन ।’
त्यस्तै माओवादीका अन्य केहि नेताहरु पनि पार्टीको उक्त निर्णयप्रति असन्तुष्ट छन् । जसमा नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, देव गुरुङ र कृष्णबहादुर महरा रहेका छन् ।
प्रतिक्रिया