कानूनमन्त्री गिरी र चिनियाँ न्यायाधीशबीच भेटवार्ता

कानूनमन्त्री गिरी र चिनियाँ न्यायाधीशबीच भेटवार्ता


काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतको न्याय निर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार मन्त्री गिरी र गुइसियाङबीच शिष्टाचार भेट भएको छ ।

भेटको अवसरमा मन्त्री गिरीले न्यायाधीश गुइसियाङको नेपाल भ्रमणप्रति खुशी व्यक्त गरेका छन् । उनले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।

चीनले झण्डै ७ दशकदेखि नेपालको विकास प्रयासमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद समेत दिए । नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको र आगामी दिनमा पनि २ देश र जनताको पारस्परिक हितका लागि कानून तथा न्यायको क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री गिरीले उनको नेपाल भ्रमणको पूर्ण सफलताको कामना गरे ।

भेटका क्रममा मित्रराष्ट्र चीनका न्यायाधिशले एक चीन नीति प्रतिको नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै कानून तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका बीचको अनुभव आदानप्रदान गरिँदै आएको कार्यलाई निरन्तरता दिइने धारणा व्यक्त गरेका छन् ।