एनपीएल खेल्न चर्चित भारतीय खेलाडी शिखर धवन काठमाण्डुमा

एनपीएल खेल्न चर्चित भारतीय खेलाडी शिखर धवन काठमाण्डुमा


काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न चर्चित भारतीय खेलाडी शिखर धवन काठमाण्डु आएका छन् ।

त्रिवि क्रिकेट मैदानमा शनिबारदेखि सुरु हुने प्रतियोगितामा उनी कर्णाली याक्सको टीमबाट खेल्नेछन् ।

उनलाई कर्णाली याक्स टीमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । एनपीएल खेल्न काठमाण्डु आउने खेलाडीमध्ये धवन सबैभन्दा बढी चर्चित मानिन्छन् ।

उनले भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जितेका छन् । आइपीएल टीम सनराइजर्स हैदराबादबाट आईपीएलको उपाधि पनि उनले जिताएका थिए ।

कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद रहेका छन् ।

हालसम्म १५ देशका ४० विदेशी खेलाडी एनपीएलका लागि अनुबन्धित भएका छन् । प्रतियोगितामा १ टीमले अनिवार्य ४ विदेशी खेलाडी राख्नुपर्ने प्रावधान छ ।