काठमाण्डु – अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् ।
१७औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० को उद्घाटनका लागि चितवन पुगेका उनले उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेको समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताए ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता नतिरेको भन्दै विभिन्न ठूला उद्योगको लाइन काटेपछि व्यवसायीका पक्षमा बोल्दै अर्थमन्त्री महतले पुनर्विचार गर्नुपर्ने बताए ।
‘सिमेन्ट लगायत विभिन्न उद्योगमा अलिकति दबाब भइरहेको अवस्थामा हामीले यसलाई विचार पुर्याएर काम गर्नुपर्छ,’ उनले भने, ‘यो विद्युत् प्राधिकरणको क्षेत्राधिकार हो, तापनि समग्रतामा अहिले समस्या नै भएको बेलामा अलिकति सहज भइसकेपछि उनीहरूलाई धेरै दबाब पर्दैन । त्यो विषयमा विद्युत् प्राधिकरणले सोच्दा राम्रो हुन्छ ।’
लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनको विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनर्विचार गर्नुपर्ने उनले बताए । उनले साँच्चिकै तिर्नुपर्ने रकम कति हो वा होइन भन्ने कुराको निर्क्यौल गरी सहज भइसकेपछि निर्णय लिन उपयुक्त हुने उनको तर्क छ ।
प्रतिक्रिया