फाइल तस्बिर
काठमाण्डु – आइतबार बिहान सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजिओको खाजा ल्याएको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बैठक बहिस्कार गरेका छन् । लामिछानेले बैठक बहिस्कार गरेपछि समिति बैठक नै स्थगित भएको छ ।
बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल गर्ने विषय थियो ।
बैठक कक्षमा सांसदहरू पुग्दा उनीहरूको टेबल अगाडि चम्चा काँटा र खाजाको व्यवस्था थियो । छलफलका लागि बोलाइएको गृहमन्त्री लामिछाने समयमै बैठक कक्षमा पुगेका थिए । सांसदहरू बैठक कक्षमा छिर्ने बित्तिकै उनीहरूलाई पाइलट पेन र डायरी बाँडियो ।
अरु बैठकमा नभएका बस्तुहरू देखेपछि सांसदहरूले के हो भनेर सोध्दा समिति सभापति रामहरि खतिवडाले ठट्टा गर्दै माननीय गृहमन्त्री आउनुभएको भएर विशेष व्यवस्था गरिएको बताए ।
त्यसपछि कांग्रेस सांसद हृदयराम थानी, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रास्वपा सांसद चन्दा कार्की लगायतले समितिमा ल्याइएको खाजाको बारेमा प्रश्न उठाएका थिए ।
त्यसपछि गृहमन्त्री लामिछानेले के हो यस्तो नयाँ चिज देखियो, यसबारे प्रस्ट पार्नुपर्यो भनेर सभापति खतिवडालाई आग्रह गरे । सभापति खतिवडाले यो हाम्रै चिज हो, आन्तरिक रूपमा व्यवस्थापन गरिएको भनेर जवाफ दिए । खाजा खाउन्जेल समितिको कार्यकक्षको दुवै ढोका लगाउन उनले मर्यादा पालकलाई निर्देशनसमेत दिएको स्रोतले बतायो ।
त्यसपछि आन्तरिक रूपमा स्पेसल खाजाको व्यवस्था समितिले धान्न सक्दैन भन्ने विषयमा विवाद भएपछि समिति सचिव सुरज दुराले खाजामा कसैले प्रायोजन गरेको बताए । प्रायोजन हो भने बाहिरको मान्छेको होला, हामीले समितिमा छलफलका लागि बोलाउने र उनीहरुले दिएको खाजा खाने यो त भएन, यो अलि अशोभनीय देखियो भन्ने कुरा सांसदहरूले गरेपछि एनजिओ प्रतिनिधि जुरुक्क उठेर सबैलाई नमस्कार गर्दै आफ्नो संस्थाले खाजाको व्यवस्था गरेको बताए ।
त्यसपछि गृहमन्त्री लामिछानेले भूमिका बाँध्नुपर्दैन, संसदीय समितिमा छिरेर खाजा किन दिनुपर्यो त्यो पहिला भन्नुस् भन्दै प्रश्न गरेका थिए । अन्यथा होइन बाहिर होटलमा कार्यक्रम गर्नुभन्दा संसदीय समितिमै कार्यक्रम गरौँ, खाजा पनि खाऔँ भनेर यस्तो गरिएको एनजिओ प्रतिनिधिले बताए ।
राज्यको प्रतिनिधिको समिति जहाँ राज्यका लागि बनाइने कानुनको विषयमा छलफल हुने, कानुन के बनाउने कस्तो बनाउने छलफलमा अर्कैले प्रायोजन गरेको खाजा खाएर छलफल गराउन खोजेपछि यसमा धेरै शंका गर्ने ठाउँ देखिएको भन्दै गृहमन्त्री लामिछाने समिति हलबाट बाहिरिएर मन्त्रालयतर्फ लागे ।
गृहमन्त्री लामिछाने उठेर गएपछि अरू सांसदहरूले पनि खाजाको व्यवस्थाको विरोध गर्दै मन्त्री नै गएपछि अब छलफल अगाडि बढाउने कुरा भएन बैठक कक्षबाट बाहिरिए ।
मन्त्री र सांसदहरूले खाजाको विषयमा प्रश्न उठाउँदै बैठक नै बहिष्कार गरेपछि समितिको बैठक स्थगित भएको थियो । एलएक्सपिटीडी भन्ने संस्था जनसङ्ख्या र विकाससम्बन्धी काम गर्ने संस्थाले खाजाको व्यवस्था गरेको थियो ।
प्रतिक्रिया