निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्छ : अध्यक्ष मल्ल

निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्छ : अध्यक्ष मल्ल


काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

निर्यात प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्ने भनिए पनि व्यावहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए । निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य वस्तुको प्रवर्द्धन, उपभोग एवं निर्यात सहजीकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले भने, ‘चालू आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ पुगिसकेको छ, व्यापार घाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।’

नेपालको वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँभन्दा बढी भए पनि अपेक्षित लाभ लिन नसकिएको अध्यक्ष मल्लले बताए । जडिबुटीजन्य वस्तुको उपभोग र निर्यात सम्बन्धी विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । निर्यात प्रवर्द्धनका लागि अनलाइन गेटवे प्रणालीको विकास गरिनुपर्नेमा मल्लले जोड दिए ।

उनले भने, ‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्दछ । मुलुकभित्रका प्राकृतिक स्रोत एवं साधनहरू सम्बन्धमा उपयुक्त ऐन, नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ ।’

सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिए ।

निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरूलाई समावेश गर्न सकिए रोजगारी समस्या केही हदसम्म हल गर्न सकिने उनले बताए । राज्यको पढ्दै कमाउँदै नीतिलाई औद्योगिक एवं व्यावसायिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।